धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणसम्म आइपुग्दा घरेलु खेलकुदको एउटा स्थापित नाम बनिसकेको छ । त्यसो त नेपालमा प्रतियोगिता आयोजना गर्न जति सहज छ । त्यो भन्दा बढी चुनौती निरन्तरतामा हुने गर्दछ ।
चौथ संस्करणको सहभागिता
निरन्तरताका लागि मुख्य बाधक आर्थिक व्यवस्थापन हुने गर्दछ । छैटौं सस्करण सम्म आइपुग्दा नेपालगन्ज म्याराथनले भने सबै खाले चुनौतीलाई पार गर्न सफल भएको छ । तर, पनि आउने वर्षहरुका लागि यसको निरन्तरतामा चुनौती नै छैन भन्ने होइन ।
स्थानिय शहरको नामबाट म्याराथनलाई स्थापित गराउने एउटा प्रयास स्वरुप क्रिएटिभ ह्यान्ड्सले छ वर्षअघि नेपालगन्ज म्याराथन सुरु भएको थियो । शहरका नाममा म्याराथन आयोजना हुने विश्वमा थुप्रै उदाहरण छन् । लण्डन म्याराथन, बर्लिन म्याराथन, बोस्टन म्याराथन, सिड्नी म्याराथन, छिमेकी देश भारतमा हुने दिल्ली म्याराथन त्यसका केहि उदाहारण हुन् ।
निरन्तर आयोजना हुनु आफैमा नेपालगन्ज म्याराथनको सफलता मान्नुपर्दछ । हरेक वर्ष म्याराथमा हुने खेलाडीको सहभागिता, स्थानिय निकाय, प्रायोजकहरु जोडिदै जाने क्रम बढ्दै जानु यसको सफल पक्ष मान्न सकिन्छ । तर, अझै पनि यसको स्थायित्व र निरन्तरता पूरै ढुक्क हुने अवस्था छैन ।
असल नियतका साथ एउटा संस्थाले म्याराथनको ठूलो प्रतियोगिता आयोजना गर्न सक्छ भने दरिलो उदाहारण क्रिएटिभ ह्याड्सले प्रस्तुत गरिसकेको छ । यसका लागि आयोजक संस्था मात्र तयार भएर मात्र पुग्दैन । सहयोगी संघ संस्था, प्रायोजक र स्थानियन निकायको सहयोग पनि त्यत्तिकै जरुरी हुन्छ ।
यसपटक कोरोना भाइरस कोभिड १९ का कारण विश्वव्यापी र देश भित्रका सबै क्षेत्रमा परेको असरले नेपालगन्ज म्याराथन हुनेमा शंका मात्र होइन, हुदैन भन्नेमा सबै मानसिक रुपमा तयार नै थिए । तर, त्यसकै प्रतिकुलतामा पनि नेपालगन्ज म्याराथन आयोजनाको सम्भावना देख्नु कम जोखिमको विषय थिएन ।
कोरोनाको नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन गरेबाट देशका सबै खेलकुद प्रतियोगिता मात्र होइन प्रशिक्षण पनि बन्द थिए । सरकारले केहि दिन अघि मात्र प्रशिक्षणका सुरु गर्न स्वीकृति दिइसकेको छ । तर, पनि अझै नियमित प्रशिक्षण सुरु भइसकेको छैन ।
सरकारले खेलकुदको प्रशिक्षणका लागि अनुमति नदिदै क्रिएटिभ ह्यान्ड्स नेपालगन्ज म्याराथनको आयोजनाको सम्भावना देख्यो । त्यसका पछाडिको एउटा ठूलो कारण भनेको गत वर्षबाट जोडिएको मुख्य प्रायोजक धारा शुद्ध तोरीको तेल,सह प्रायोजक आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंकलागायत सहयोगी संघ संस्था बढाएको हौसला नै हो ।
”
गत वर्षका विजेताहरु
सरकारले स्वीकृति नदिदै क्रिएटिभ ह्यान्ड्सले राष्ट्रिय खेलकुद परिषद्(राखेप) र बाँके जिल्ला प्रशासनबाट स्वास्थ्य मापदण्डलाई पूरा गर्दै नेपालगन्ज म्याराथन आयोजनाका लागि स्वीकृति लिइसकेको थियो ।
ठप्प रहेको घरेलु खेलकुदलाई चलायमान बनाउन सकिन्छ भन्ने सन्देश दिन नेपालगन्ज म्याराथन सफल हुने विश्वास लिन सकिन्छ । प्रतिकुल परिस्थितिलाई पनि अनुकुलतामा बदल्दै जानुपर्छ भन्ने यसअघिका भन्दा फरक सन्देश यसपटकको म्याराथनले दिदैछ । कारोनासँग भागेर होइन यसबाट जोखिएर खेलकुद गतिविधि अघि बढाउनका लागि नेपालगन्ज म्याराथन एउटा मानक बन्न सक्ने सम्भावना छ ।
छिमेकी मुलुकले खेलकुद गतिविधि र प्रशिक्षणलाई अघि बढाइरहँदा हामी भने अझै सहज माहोलको पर्खाईमा छौं । तर, कोरोना महामारीको चपेटामा हामी कहिले सम्म पर्छौ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । त्यसअर्थ पनि हामीले अब कोरोनासँग भागेर होइन, यसबाट जोगिएर आफ्नै दैनिकी र खेलकुद गतिविधिलाई चलायमान बनाउनुपर्ने अवस्था सृजना भएको छ । कोरोनाको यो अदृश्य महामारीले अझै कति क्षति पुर्याउँछ त्यसको कल्पना पनि गर्न सकिने अवस्था छैन ।
अर्को आकर्षणका रुपमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताद्वय किरणसिंह बोगटी र गोपीचन्द्र पार्कीलगायत विभागिय टोलीका खेलाडीको सहभागिताले नेपालगन्ज म्याराथनप्रति खेलाडीको बढ्दो आकर्षणलाई दर्शाएको छ । त्यसमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खेलाडीको सहभागिताले भविष्यमा यो क्षेत्रमा थप खेलाडी उत्पादनको सम्भावना पनि देखाएको छ । १३ औं सागमा किरणले र गोपीले ५ हजार मिटरमा स्वर्ण पदक जितेका थिए ।
त्यति मात्र होइन यसपटक अर्को बर्ष हुने टोकियो ओलम्पिकको छनोटका रुपमा नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मान्यता दिनु यसको अर्को सफलता हो । म्याराथनको विजेताले ओलम्पिकमा देशको प्रतिनिधित्व गर्नेछन् । एनओसी वा नेपाल एथलेटिक्स संघले आफै छनोट तत्काल गर्ने सम्भावना नभएको परिस्थितिलाई मनन गर्दै नेपालगन्ज म्याराथननै छनोटको मान्यता दिनु एनओसीका लागि राम्रो विकल्प थियो ।
कोरोनाकै कारण धेरै जोखिम उठाउन नमिल्ने हुँदा प्रतियोगिताको स्वरुप केहि खुम्चिएको पक्कै छ । यसपटक पुरुष म्याराथन र महिला हाफ म्याराथनको मात्र प्रतिस्पर्धा राख्नुपर्ने परिस्थित बनेको छ । समयअनकुल आयोजनाको स्वरुपलाई परिवर्तन गर्नुपर्ने स्वभाविक थियो ।
म्याराथन आयोजनाले नेपालगन्जलाई खेलकुदको शहरका रुपमा विकसित गर्दै उद्देश्यमा महत्वपूर्ण टेवा दिने निश्चित छ । केहि वर्षयता बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप महिला भलिबल, बाँके जिल्ला फुटबल संघको आयोजना हुने नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता नेपालगन्जका स्थापित प्रतियोगिता हुने प्रयासमा छन् । ती प्रतियोगितालाई पनि निरन्तरताको चुनौती नभएको होइन । तर, पनि जिल्ला फुटबल र भलिबल संघ आफ्नो प्रतियोगितालाई निरन्तरता आयोजना गर्न प्रयासरत देखिन्छन् ।
गत वर्ष लुम्बिनी प्रदेशले आठौं राष्ट्रिय खेलकुदको सफल आयोजना गर्दा त्यसको मुख्य केन्द्र बाँके त्यसमा पनि नेपालगन्ज मुख्य शहर थियो । २०५४ सालमा चौथो राष्ट्रिय खेलकुद आयोजना गरेको नेपालगन्जले खेलकुदमा आफ्नो अलग पहिचान बनाइसकेको छ । चौथो र आठौंले खेलकुदमा दिलाएको त्यो बिरासतलाई जोगाउन जिम्मेवारी यी तीन ठूला प्रतियोगिता नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप र नेपालगन्ज गोल्डकप माथि छ ।
कुनै प्रतियोगिता सफलताका लागि स्थानिय व्यापारिक घरना, स्थानिय संघ संस्था, स्थानिय निकायको सहयोग आवश्यक पर्दछ । त्यसमा नेपालगन्ज बिस्तारै तयार हुँदै गएको र अपनत्व विकास भएको महसुस गर्न सकिन्छ । त्यसर्थ पनि नेपालगन्ज काठमाडौं, पोखरापछि खेलकुदको अर्को शहर बन्ने सम्भावना देखिदै गएको छ ।
कुनै प्रतियोगिता सफलताका लागि स्थानिय व्यापारिक घरना, स्थानिय संघ संस्था, स्थानिय निकायको सहयोग आवश्यक पर्दछ । त्यसमा नेपालगन्ज बिस्तारै तयार हुँदै गएको र अपनत्व विकास भएको महसुस गर्न सकिन्छ । त्यसर्थ पनि नेपालगन्ज काठमाडौं, पोखरापछि खेलकुदको अर्को शहर बन्ने सम्भावना देखिदै गएको छ ।
कुनै समय महिला क्रिकेटको उदय गराउने जस पाएको नेपालगन्जमा शुटिङ र भारोत्तलन खेलाडी उत्पादनको उर्वरभूमि मानिन्थ्यो । अहिले ती खेल केहि ओझेलमा छन् । अहिले खेलकुदका कारणबाट नेपालगन्जको परिचय बन्दै गरेको म्याराथन, भलिबल र फुटबल प्रतियोगिताले अन्य खेलका पदाधिकारी र सरोकारवालाई पूर्नजार्गित गराउन सकेको खण्डमा खेलकुदका नजरमा नेपालगन्जको परिचय अझै फराकिलो बन्दै जाने अनुमान गर्न सकिन्छ ।
नेपालगन्जनमा हुने तीन ठूला प्रतियोगिता एथलेटिक्स, फुटबल र भलिबल प्रतियोगिता आयोजनाको सिमित अर्थमा मात्र हेरिन्नु हुँदैन । यसलाई नेपालगन्जलाई खेलकुद शहरका रुपमा विकास गर्ने अभियानको महत्त्वपूर्ण प्रयासको रुपमा हेरिनु बढी जायज हुन्छ ।